काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ।

शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले त्यस्ता गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न निर्देशन दिएका हुन्।

मन्त्री पोखरेलले देशभरका विद्यालयमा शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भए/नभएको विषयमा निगरानी बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

यसैबीच, शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक दलका कार्यक्रममा सहभागिताबारे निगरानी गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ।

एकाइले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाका आधारमा केही विद्यालयका शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाएको छ।

पत्रमार्फत स्थानीय तहअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका विभिन्न कार्यक्रम तथा गतिविधिमा सहभागी भए/नभएको विषयमा गहन निगरानी गर्न अनुरोध गरिएको छ।

शिक्षकहरूलाई शिक्षण पेसाको मर्यादा कायम गर्दै राजनीतिक गतिविधिबाट अलग रहनुपर्ने विषयमा मन्त्रालयले जोड दिएको छ।