काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी । भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी, वामन एकादशी वा जयन्ती एकादशीका रूपमा मनाउने गरिन्छ ।
धार्मिक मान्यताअनुसार यस दिन भगवान विष्णुले क्षीरसागरमा शयन गर्ने क्रममा कोल्टे फेर्ने विश्वास गरिन्छ । त्यसैले यस एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
हरिपरिवर्तिनी एकादशीका दिन निष्ठापूर्वक व्रत बस्दा पाप नाश भई पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । यस दिन बिहानै स्नान गरी भगवान विष्णु अर्थात् हृषिकेशको पूजा तथा आराधना गर्ने गरिन्छ ।
व्रतालुले आफ्नो परम्परा र स्वास्थ्यअनुसार फलाहार वा निराहार व्रत बस्ने तथा दिनभर भगवान विष्णुको स्मरण र पूजा–आराधना गर्ने चलन रहेको छ ।


