काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आज देशभर सम्पन्न हुँदैछ । शनिबारदेखि सुरु भएको वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिँदैछ ।

कांग्रेसका अनुसार शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिकाअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया अघि बढाइएको हो ।

शनिबार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेकका ३१ जिल्लामा वडा अधिवेशन आइतबार पनि जारी रहनेछ । भोटेकोशी बाढीका कारण रसुवा तथा नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ बाहेक अन्य स्थानमा वडा अधिवेशन आज र भोलिसम्म सम्पन्न गर्ने तयारी छ । बाढी प्रभावित क्षेत्रमा भने स्थानीय अवस्था र कार्यकर्तासँगको समन्वयका आधारमा अधिवेशनको मिति तय गरिने जनाइएको छ ।

कांग्रेसले देशभरका ४६० गाउँपालिकाका ३ हजार २१५, २७६ नगरपालिकाका ३ हजार १२०, ११ उपमहानगरपालिकाका २३४ तथा ६ महानगरपालिकाका १७४ गरी कुल ६ हजार ७४३ वडामा अधिवेशन गर्दैछ ।

विधानअनुसार वडा कार्यसमितिमा देशभर ८५ हजार ४३४ जना निर्वाचित हुनेछन् । जसमा ३३ हजार ७१५ पदाधिकारी र ५१ हजार ७१९ सदस्य रहने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

गाउँपालिकाका वडामा पाँच पदाधिकारी र सात सदस्य गरी प्रतिवडा १२ जनाका दरले ३८ हजार ५८० जना निर्वाचित हुनेछन् । नगरपालिकाका ३ हजार १२० वडामा पाँच पदाधिकारी र आठ सदस्य गरी ४० हजार ५६० जना निर्वाचित हुनेछन् ।

त्यस्तै, उपमहानगरपालिकाका २३४ वडामा पाँच पदाधिकारी र १० सदस्य गरी ३ हजार ५१० जना तथा महानगरपालिकाका १७४ वडामा पाँच पदाधिकारी र ११ सदस्य गरी २ हजार ७८४ जना निर्वाचित हुनेछन् ।

वडा अधिवेशनबाट पार्टीको क्रियाशील सदस्य संख्याका आधारमा प्रतिवडाबाट २३ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ । क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि चयन गर्नेछन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।

कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशनपछि असोज ७ गते जिल्ला अधिवेशन तथा असोज १० गते प्रदेश अधिवेशन हुनेछ । त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका रहेको छ ।