काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह न्यूयोर्क जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले असोज ८ गते (सेप्टेम्बर २४) महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । न्यूयोर्क बसाइका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव अन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल भने आइतबार नै न्यूयोर्क पुगिसकेका छन् । उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाउनेछन् । साथै, उनले विभिन्न देशका समकक्षी तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्याञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाह असोज १० गते (सेप्टेम्बर २६) मा स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

