काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप तथा लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले नयाँ प्रणालीमार्फत छपाइ सुरु गरेको हो ।
नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रिया थप छिटो, सहज र सेवामुखी बनाउने विभागको अपेक्षा छ । ईडीएलभिआरएसमा अपलोड भएका सेवाग्राहीका विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र त्यहाँबाट लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ ।
यस व्यवस्थाले लाइसेन्स छपाइ तथा वितरणमा विगतदेखि देखिँदै आएको समस्या न्यूनीकरण हुने विभागले जनाएको छ ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ ।
व्यवस्थाअनुसार सम्बन्धित प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्नेछ । सोहीअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ ।


