काठमाडौं । सरकारले भारत, चीन, अमेरिकालगायत १३ देशका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकमा रिक्त नेपाली राजदूत पदका लागि १३ जनाको नाम सिफारिस गरेको हो।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापालाई राजदूतमा सिफारिस गरेको छ। यस्तै, पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणालाई बेलायतका लागि राजदूतमा सिफारिस गरिएको छ।

सरकारले विभिन्न क्षेत्रको विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्व अनुभव भएका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरेको जनाएको छ। सिफारिस भएका नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय सुनुवाइपछि सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।

प्रस्तावित राजदूतहरूको सूची :

१. डा. निश्चलनाथ पाण्डे — भारत
२. डा. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा — संयुक्त राज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके)
५. जिग्यानकुमार थापा — जापान
६. सुरेशकुमार कर्ण — इजरायल
७. प्राप्ति शेरचन — स्पेन
८. शरू जोशी — जर्मनी
९. डा. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मञ्चला झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरेबिया ।