काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको विशेष महाधिवेशन केन्द्रीय समितिले नै बोलाउनुपर्ने बताएका छन् ।मंगलबार काठमाडौंको बालुवाटारमा कांग्रेसका ३० भन्दा बढी केन्द्रीय सदस्यसँगको भेटमा उनले समितिले नै विशेष महाधिवेशन आह्वान गर्दा पार्टीभित्र एकताको सन्देश जाने बताए ।
राष्ट्रियसभा र प्रतिनिधिसभाको समानुपातिक उमेदवार टुंग्याइएपछि विशेष महाधिवेशनमा जाँदा पार्टीका निम्ति हित हुनेमा उनले जोड दिए ।“पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुन्छ,” डा. शेखरले भने, “त्यो बेलासम्म राष्ट्रियसभा तथा प्रतिनिधिसभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।”
प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले गठबन्धन गर्न नहुने पनि उनले बताए । उनले पार्टीमा सुदृढ एकता आवश्यक रहेको औँल्याए ।


