काठमाडौं।निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार आयोगमा दर्ता भएका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि देशभरको मतदाता नामावली लिन चाहेमा १० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तो विवरण दलको औपचारिक पत्रका आधारमा विद्युतीय माध्यम (हार्डड्राइभ वा पेनड्राइभ) मार्फत उपलब्ध गराइने आयोगले जनाएको छ ।
आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा उपलब्ध गराउनेछ । आयोगले हार्डड्राइभ वा पेनड्राइभमा त्यस्तो विवरण उपलब्ध गराउनेछ ।
यसैगरी एउटा प्रदेशको मात्र विवरण चाहिएको खण्डमा रु पाँच हजार तिरेर लिन सकिनेछ ।
निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा मतदाता नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउने गरी हेर्न वा सार्न दिनुपर्ने छ ।
जिल्लाभरको मतदाता नामावलीका लागि रु तीन हजार र निर्वाचनको कुनै एक निर्वाचन क्षेत्रका मतदाता नामावलीका लागि तीन हजार लिनुपर्नेछ ।
यदि कुनै मतदाताले आफ्नै विवरणको प्रतिलिपि लिन चाहेमा निर्वाचन कार्यालयले १० हजार रुपैयाँ शुल्क लिएर सो मतदाताको मात्र विवरण आउने गरी नामावली उपलब्ध गराउनुपर्नेछ ।
यस्तै, आयोगमा दर्ता भएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले जिल्लाभरको मतदाता नामावली लिन तीन हजार रुपैयाँ र कुनै एक निर्वाचन क्षेत्रको विवरण लिन पनि तीन हजार रुपैयाँ तिर्नुपर्नेछ । तर यस अवस्थामा पनि जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बर दिइने छैन ।


