वीरगन्ज : धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगन्जमा लागू गरिएको कर्फ्यु मंगलबार साँझ ६ बजेसम्म थप गरिएको छ । स्थानीय प्रशासनले सोमबार साँझदेखि जारी कर्फ्युलाई पटक–पटक समीक्षा गर्दै अवधि बढाएको हो ।

मंगलबार विहान जारी कर्फ्यू समय अपरान्ह १ बजेसम्मका लागि थियो । तर स्थितिलाई मध्यनजर गर्दै कर्फ्यू समयावधी मंगलबार साँझ ६ बजेसम्मका लागि लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।प्रजिअ भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा कर्फ्यु आदेश उल्लंघन गर्नेहरूमाथि कडा कानुनी कारबाही गरिने स्पष्ट गरिएको छ । आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउनसमेत अधिकार दिइएको उल्लेख गर्दै प्रशासनले सर्वसाधारणलाई संयमित रहन र आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।