काठमाडौं। नेपाली कांग्रेसले विधान बमोजिम नियमित १५औं महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै विशेष महाधिवेशनको माग र त्यसका नाममा बोलाइएका भेलाहरू अवैधानिक हुने दोहोर्याएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
पार्टी एकता कमजोर बनाउने र आगामी निर्वाचनमा नकारात्मक असर पार्ने भन्दै यस्ता गतिविधि तत्काल रोक्न कांग्रेसले अपिल गरेको पौडेलले उल्लेख गरेका छन्।पार्टीका महाधिवेशन प्रतिनिधिहरूले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर बुझाएको र सोही आधारमा महाधिवेशनको आवश्यक प्रक्रिया अघि बढिसकेको पौडेलले सार्वजनिक गरेका छन्।
विशेष महाधिवेशनको मागको औचित्य मंसिर १५ देखि नै स्वतः समाप्त भएको दाबी पनि गरिएको छ।‘पार्टीले २०८२ मंसिर १५ गते पारित गरेको महाधिवेशन कार्यतालिकालाई पुस १८ को बैठकले संशोधन गर्दै २०८३ वैशाख २८ देखि ३१ गतेसम्म १५औं महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ,’ बैठकको निर्णयमा भनिएको छ ‘यस सन्दर्भमा विधान अनुसार नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेको हुँदा विशेष महाधिवेशन अवैधानिक हुने’ उल्लेख छ।
आन्तरिक विवाद र विशेष महाधिवेशनको बहसले देशलाई समेत अस्थिरतातर्फ धकेल्ने सम्भावना रहेको भन्दै कांग्रेस एकताबद्ध भएर निर्वाचन तयारीमा जुट्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ।
पार्टी विधान अनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केन्द्रीय समितिलाई मात्र रहेको भन्दै व्यक्तिगत रूपमा बोलाइने अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने गतिविधि विधान विपरीत हुने ठहर बैठकले गरेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै पार्टी अहिले समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस भइसकेको अवस्था, राष्ट्रियसभा सदस्य निर्वाचन लगायत महत्वपूर्ण काममा केन्द्रित रहेको बैठकले निष्कर्ष निकाल्दै यस्तो कार्यक्रममा सहभागी नहुन आग्रह समेत गरेको छ ।


