काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित चलचित्र **‘म मदनकृष्ण’**को छायांकन सुरु भएको छ । शुभमुहूर्त गर्दै आजदेखि चलचित्रको औपचारिक छायांकन थालिएको हो ।
चलचित्रको छायांकन काठमाडौं, पाँचखाल र पनौतीका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई आगामी चैत ४ गतेदेखि नेपालभर प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।
निर्देशक मिलन चाम्सका अनुसार चलचित्रमा मदनकृष्ण श्रेष्ठको संघर्ष, सफलता तथा जीवनका विभिन्न आरोह–अवरोहलाई कथावस्तु बनाइएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी र उनकी श्रीमती यशोदाको भूमिकामा केकी अधिकारी देखिनेछन् ।
त्यस्तै, अरुण क्षेत्रीले हरिवंश आचार्य तथा वर्षा राउतले हरिवंशकी श्रीमतीको भूमिका निर्वाह गर्नेछन् ।
चलचित्रमा मदनकृष्णको बाल्यकालदेखि सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाहलगायत जीवनका महत्वपूर्ण घटनालाई समेटिने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसीलगायत कलाकारको अभिनय रहनेछ ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन् । चलचित्रको काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर आरआर फिल्म्सले वितरण गर्नेछ ।


