काठमाडौं । काठमाडौं उपत्यकाभित्र संघीय सडकमा देखिएका समस्या तथा सडक मर्मतसम्बन्धी गुनासो र सुझाव दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ। सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।
अब उपत्यकाका नागरिकले संघीय सडकअन्तर्गत बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव एपमार्फत दर्ता गर्न सक्नेछन्। एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्थाबारे नागरिकले प्रत्यक्ष जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। गुनासो सम्बोधन भएपछि त्यसको जानकारीसमेत एपमार्फत उपलब्ध गराइने सडक डिभिजन काठमाडौंले जनाएको छ।
हाल एपमार्फत काठमाडौं उपत्यकाभित्र संघीय सडकअन्तर्गत पर्ने करिब ४७२ किलोमिटर सडकसँग सम्बन्धित गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सडकअन्तर्गत नपर्ने सडकका सम्बन्धमा भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारीसमेत एपमार्फत प्राप्त गर्न सकिनेछ।
सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सुरु गरिएको एपलाई क्रमशः देशभर विस्तार गर्ने तयारी गरिएको छ। सडक डिभिजन काठमाडौंका अनुसार आगामी दुई साताभित्र ललितपुर र भक्तपुरलाई समेत समेटेर सेवा विस्तार गर्ने लक्ष्य छ।
त्यसपछि एपलाई क्रमशः देशका अन्य क्षेत्रमा समेत विस्तार गरी देशभर सञ्चालनमा ल्याउने तयारी गरिएको छ।


