काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

महासंघले सोमबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपका घटना बढेको, पत्रकारमाथि धरपकड गरिएको तथा सञ्चारकर्मीका पेसागत र श्रम अधिकारसमेत कुण्ठित गरिएको भन्दै आपत्ति जनाएको हो ।

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटना, प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा सवारीसाधन तेर्स्याउने घटनामा संलग्नमाथि कारबाही नभएको विषयलाई महासंघले गम्भीर रूपमा उठाएको छ ।

त्यसैगरी, गोरखापत्रसहित सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको भन्दै महासंघले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

महासंघले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षणपत्र बुझाइनेछ । त्यसपछि मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका अधिकारसम्बन्धी माग समेटिएको ध्यानाकर्षणपत्र पठाइनेछ ।

यस्तै, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल तथा मंसिर ७ गते देशभरका जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।

आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले मंसिर ९ गते देशभरका जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा भेला भई विरोध प्रदर्शन गरिने महासंघले जनाएको छ । उक्त प्रदर्शनमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरमार्फत सरकारको ध्यानाकर्षण गराइनेछ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा तथा श्रम अधिकारसम्बन्धी माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिइएको छ ।