काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ । ऐन कार्यान्वयनको पहिलो दिन आज करिब २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासु परीक्षण गरी छाप लगाउने कार्य सुरु गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार काठमाडौंको बालाजुस्थित भ्याली कोल्डस्टोर, टोखाका सिन्धु चिकेन र थ्रिस्टार फुड प्रालि, मध्यपुर ठिमीको न्यु पञ्चकन्या सप्लायर्स तथा टेकुका राँगाको मासु पसलमा मासु परीक्षण सुरु गरिएको हो ।
पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा पशु तथा मासुको ‘एन्टिमोर्टम’ (वधपूर्व) र ‘पोस्टमार्टम’ (वधपश्चात्) परीक्षण गरी स्वस्थ मासुमा मात्र छाप लगाउने व्यवस्था गरिएको विभागले जनाएको छ ।
स्वच्छ तथा स्वस्थ मासु उपभोक्तासम्म पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत विभागले विभिन्न स्थानमा मासु निरीक्षक (पशु चिकित्सक) समेत खटाएको छ । जसअनुसार बालाजुमा डा. कमलेश्वर भाट, टोखामा डा. गौरीमान श्रेष्ठ र डा. जस्मिन अधिकारी, भक्तपुरमा डा. पुजन सिंह कुँवर तथा टेकुमा डा. उदय लाल खत्रीलाई जिम्मेवारी दिइएको छ ।
परीक्षणका क्रममा मरेका पन्छी तथा अस्वस्थ मासु भेटिए तत्काल हटाउने र स्वस्थ मासुमा मात्र छाप लगाउने गरिएको विभागले स्पष्ट पारेको छ । मासुमा छाप लगाउन प्रयोग गरिने मसी पूर्ण रूपमा खाद्ययोग्य (फुड ग्रेड) भएकाले यसले मानव स्वास्थ्यमा कुनै नकारात्मक असर नगर्ने विभागको भनाइ छ ।
ऐनको कार्यान्वयनसँगै उपत्यकामा बिक्री वितरण हुने मासुको स्वच्छता, गुणस्तर र उपभोक्ताको स्वास्थ्य सुरक्षामा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ ।

