काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । लिग चरणमा शीर्ष स्थान हासिल गरेको लुम्बिनी र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा आमनेसामने हुन लागेका हुन् ।
सुदूरपश्चिम लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको हो । यसअघिका दुवै संस्करणमा फाइनल पुगेको सुदूरपश्चिम उपविजेतामा सीमित भएको थियो । यता, लुम्बिनी गत संस्करणको उपाधि विजेता टोली हो ।
आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने फाइनल पुग्ने अर्को अवसर पाउनेछ । उसले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
इलिमिनेटरमा भोलि काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
एनपीएलको फाइनल खेल मंसिर ५ गते हुनेछ ।

