काठमाडौँ । रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन थप ३० दिनको म्याद दिइएको छ ।
राष्ट्रिय किताबखानाले सूचना जारी गर्दै विपद्का कारण प्रभावित क्षेत्रमा कार्यरत रही निर्धारित समयभित्र सम्पत्ति विवरण पेश गर्न नसकेका निजामती कर्मचारी, नेपाल प्रहरी तथा शिक्षकका लागि म्याद थप गरिएको जनाएको हो ।
सरकारले २०८३ भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण उक्त क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रमा कार्यरत रही राष्ट्रिय किताबखानामा सम्पत्ति विवरण पेश गर्नुपर्ने कानुनी दायित्व भएका कर्मचारीले विपद्का कारण निर्धारित समयमा विवरण बुझाउन नसकेकाले थप ३० दिनको समय दिइएको किताबखानाले जनाएको छ ।
किताबखानाका अनुसार थप गरिएको अवधिभित्र सम्पत्ति विवरण पेश गर्दा विपद्का कारण निर्धारित समयमा विवरण बुझाउन नसकेको स्पष्ट कारण खुलाइएको सम्बन्धित कार्यालय प्रमुखबाट जारी आधिकारिक सिफारिसपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।
सम्बन्धित कर्मचारीलाई थप गरिएको म्यादभित्र आवश्यक कागजातसहित सम्पत्ति विवरण पेश गर्न राष्ट्रिय किताबखानाले अनुरोध गरेको छ ।

