काठमाडौँ । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ ।
यस अवसरमा विभिन्न कलकारखाना, उद्योग तथा कार्यस्थललाई विशेष रूपमा सजाएर विश्वकर्माको तस्बिर वा मूर्तिमा पूजाआराधना गरिन्छ । कालिगढ तथा श्रमिकले आफूले प्रयोग गर्ने औजार, मेसिनरी तथा उपकरणको समेत पूजा गर्ने गर्छन् ।
धार्मिक विश्वासअनुसार आजका दिन औजार तथा उपकरणको पूजा गरेमा ती लामो समयसम्म टिक्ने, काम गर्ने क्रममा नबिग्रने तथा काममा सफलता प्राप्त हुने विश्वास छ । कतिपय स्थानमा बालुवा तथा अन्य सामग्रीबाट बनाइएको विश्वकर्माको मूर्ति सुन्दरीजलस्थित वाग्मतीको मुहान वा अन्य शुद्ध स्थानमा लगेर विसर्जन गर्ने चलनसमेत रहेको छ ।
धार्मिक मान्यताअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई लुकाएका थिए । एकै रातमा समुद्रको बीचमा द्वारका निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मान्दै पूजा गर्ने परम्परा सुरु भएको प्रा. तोयराज नेपाल बताउँछन् ।
प्राचीन भारतवर्षमा चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मान्ने गरिएको पाइन्छ । विश्वकर्माले निर्माण गरेको भनिएको ‘भेद द्वारका’ भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको धार्मिक विश्वास छ ।
विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ उनैले रचना गरेको विश्वास रहेको वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।
यही धार्मिक तथा सांस्कृतिक विश्वासका आधारमा नेपालका कालिगढ तथा श्रमिकले विश्वकर्माको पूजा गरी उनको ज्ञान र सीपको सम्मान गर्ने गरेका छन् । विश्वकर्माको पूजा गरेमा आफूमा समेत उहाँका गुण प्राप्त हुने धार्मिक विश्वास छ । त्यसैले आज इञ्जिन तथा मेसिन जडान भएका यन्त्र, सवारीसाधन तथा विभिन्न उपकरणमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक तथा अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले ‘वास्तु दिवस’का रूपमा समेत मनाउने गरेका छन् ।
पछिल्लो समय नेपालमा वास्तुविद्याप्रति चासो बढ्दै गएको छ । चार उपवेदमध्ये एक मानिने स्थापत्यवेदमा वास्तुशास्त्रसम्बन्धी विषय उल्लेख रहेको मानिन्छ । स्थापत्यवेदमा आधारित सहर तथा आवास निर्माण गर्ने क्रम बढेसँगै पछिल्लो समय वास्तुविद्याको महत्वसमेत बढ्दै गएको छ ।


