काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले छठ पर्वले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वले सबैको जीवनमा सुख, शान्ति, आरोग्य र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन् ।
छठ पर्वलाई प्रकृति र आस्थासँग जोडिएको महान् पर्वका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसले जीवनको गहिरो दर्शनसमेत सिकाउने बताएका छन् । उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि समान श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्न प्रेरित गर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वसमेत स्मरण गराएका छन् । उनका अनुसार पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा रहेको छ ।
सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले छठ पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सकारात्मक सोचलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना सन्देशको अन्त्यमा उनले मैथिली भाषामा समेत शुभकामना दिँदै भनेका छन्, ‘छैठके बहुत रास शुभकामना ! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि ।’

