काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो शतक प्रहार भएको छ । चितवन राइनोजका कामिल मिशाराले काठमाडौं गोर्खाजविरुद्ध शतक प्रहार गरेका हुन् ।

मिशाराले ५३ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा शतक पूरा गरे । उनी जारी संस्करणमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् ।

यसअघि पोखरा एभेन्जर्सका युवराज सामराले कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक प्रहार गरेका थिए । एनपीएल इतिहासमा यो पाँचौँ शतक हो । हालसम्म बनेका पाँच शतकमध्ये तीन शतक पोखराका खेलाडीले प्रहार गरेका छन् ।

एनपीएलको पहिलो संस्करणमा पोखराका एन्ड्रेज हाउसले ५४ बलमा शतक पूरा गरेका थिए । उनले उक्त खेलमा अविजित १०४ रन बनाएका थिए ।

त्यस्तै, दोस्रो संस्करणमा पोखराकै एडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध ५४ बलमा शतक बनाएका थिए । उनले उक्त खेलमा ५८ बलमा अविजित १०८ रन जोडेका थिए ।

गत संस्करणमै कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध मात्र ४१ बलमा शतक पूरा गरेका थिए । यो एनपीएल इतिहासमा सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो । वाटले उक्त खेलमा ४४ बलमा अविजित ११४ रन बनाएका थिए ।

एनपीएलमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान पनि वाटकै नाममा छ । उनले बनाएको ११४ रन हालसम्मकै उच्च व्यक्तिगत स्कोर हो ।