काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गर्दै आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित ।’
उनले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने निर्णय गरेको स्पष्ट पारेकी छन् ।
श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हालेकी थिइन् ।
उनको उम्मेदवारी घोषणासँगै आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको नेतृत्वका लागि हुने प्रतिस्पर्धामा नयाँ राजनीतिक चर्चा सुरु भएको छ ।

