काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वीर पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताकै कारण आज नेपालीहरू गौरवका साथ शिर उँचो बनाएर उभिन सकेको बताएका छन्।
शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले इतिहासका सकारात्मक पक्षलाई आत्मसात् गर्न सके मात्र वर्तमानप्रति न्याय गर्न र उज्ज्वल भविष्य निर्माण गर्न सकिने बताए।
उनले भने, “हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ। यही मार्गले भविष्य निर्माणको सुनौलो बाटो तय गर्छ भन्ने मेरो विश्वास छ।”
राष्ट्रपति पौडेलले वीर पुर्खाले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको संरक्षणका लागि पुर्याएको योगदान सदैव स्मरणीय र अनुकरणीय रहेको उल्लेख गरे। उनले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको आधारमा राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउनुपर्ने तथा राष्ट्रप्रेमप्रतिको प्रतिबद्धता कहिल्यै कमजोर हुन नदिन आग्रह गरे।
उनले राष्ट्रिय एकताको बलमा समृद्ध नेपाल निर्माण गर्दै भावी पुस्तामा राष्ट्रप्रेमको भावना जागृत गराउनुपर्ने आवश्यकता औँल्याए। साथै भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्दै सुशासनमार्फत देश विकासलाई तीव्रता दिन सबै एकजुट हुनुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले भीमसेन थापालाई इमानदार र कुशल प्रशासकका रूपमा स्मरण गर्दै उनको शासनकालमा सामाजिक, आर्थिक, कानुनी तथा सैनिक आधुनिकीकरणका क्षेत्रमा भएका सुधारहरू प्रशंसनीय रहेको बताए।
कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।


