काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आर्थिक, सामाजिक वा अन्य कुनै पनि कारणले निराश भएका नागरिकलाई जीवनप्रति आशा नरोक्न आग्रह गर्दै उनीहरू एक्ला नरहेको बताएका छन्।
बिहीबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा कार्यक्रममा सम्बोधन गर्दै थापाले कठिन परिस्थितिमा रहेका युवासहित सबै नेपालीलाई हताश नहुन आग्रह गरे।
उनले कुनै पनि कारणले जीवन अन्त्य गर्ने सोच बनाइरहेका व्यक्तिहरूलाई सम्बोधन गर्दै सबै समस्या मिलेर समाधान गर्न सकिने विश्वास व्यक्त गरे। उनले नागरिकको साथमा नेपाली कांग्रेस रहने प्रतिबद्धता पनि जनाए।
थापाले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको स्मरण गर्दै नागरिकको दुःखमा साथ दिनु नै राजनीतिको मूल दायित्व भएको बताए। उनका अनुसार जनताको पीडा सुन्ने र संकटका बेला साथ दिने राजनीतिक संस्कारलाई कांग्रेसले निरन्तर अघि बढाउनेछ।
उनले भोट माग्ने मात्र होइन, नागरिकको दुःख र पीडामा उपस्थित हुने कांग्रेस निर्माण गर्नु आवश्यक रहेको उल्लेख गरे।
सभापति थापाले महासमिति बैठक र विशेष महाधिवेशनबाट राजनीतिक गतिविधिसँगै समाजसेवालाई पनि समान प्राथमिकता दिने नीति पारित भइसकेको जानकारी दिए। प्रत्येक पार्टी समितिले ५० प्रतिशत समय राजनीतिक गतिविधि र बाँकी ५० प्रतिशत समय समुदायको हितमा काम गर्ने निर्णय भएको उनले बताए।
उनका अनुसार ‘जरा अभियान’ सम्पन्नसँगै कांग्रेसले अब ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियान सुरु गरेको छ। यस अभियानमार्फत नागरिकको कल्याण, सामाजिक उत्तरदायित्व र अधिकार संरक्षणका क्षेत्रमा केन्द्रित भएर काम गरिने उनले बताए।


