काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार गरिएको संस्करण हस्तान्तरण गरेको छ।

चीनको मौसम विज्ञान प्रशासन (सीएमए)का अनुसार चीन–नेपाल सीमास्थित केरुङ–रसुवा क्षेत्रमा गएको घातक पहिरोपछि गत अगस्ट २९ मा नेपालको मौसम विज्ञान विभागलाई माजुको क्लाउडमा आधारित परीक्षण संस्करण उपलब्ध गराइएको थियो।

नेपालका लागि विशेष रूपमा तयार गरिएको माजु प्रणाली विकास गर्दा नेपालको भौगोलिक अवस्था, विपद्का विशेषता, पूर्वाधार तथा उपलब्ध मौसमसम्बन्धी तथ्याङ्कलाई ध्यानमा राखिएको सीएमएले जनाएको छ।

पहिरोपछि चीनले नेपाललाई मौसम पूर्वानुमान तथा पूर्व–सूचनासम्बन्धी सहयोग उपलब्ध गराएको थियो। विपद् राहत तथा उद्धारकार्यमा सहयोग पुर्‍याउन उच्च–रिजोल्युसन तथा द्रुत रूपमा अद्यावधिक हुने मौसम पूर्वानुमान र पूर्व–सूचना सामग्री उपलब्ध गराइएको सीएमएले जनाएको छ।

चीनको उत्तरपश्चिमी क्षेत्र सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको राजधानी उरुम्कीमा आयोजित दोस्रो चीन–मध्य एसिया मौसम सहयोग मञ्चका क्रममा नेपालका लागि तयार गरिएको माजु प्रणाली हस्तान्तरण गरिएको हो।

माजु बहु–जोखिम पहिचान, पूर्व–सूचना तथा मौसमसम्बन्धी जोखिम व्यवस्थापनका लागि विकास गरिएको एआईमा आधारित प्रणाली हो। यसको नाम समुद्रकी चिनियाँ संरक्षक देवी ‘माजु’को नामबाट राखिएको हो।

कार्यक्रममा सीएमएले सन् २०२६/२०२७ का लागि मध्यएसियाली देशहरूमा माजु प्रणाली लागू गर्ने योजना पनि सार्वजनिक गरेको छ। चीन र मध्यएसियाली देशबीच मौसमसम्बन्धी सहकार्य विस्तार गर्नुका साथै क्षेत्रीय विपद् रोकथाम तथा न्यूनीकरण क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त योजना अघि बढाइएको जनाइएको छ।

सीएमएका प्रमुख चेन झेन्लिनका अनुसार माजु हाल सात देशमा प्रयोगमा रहेको छ भने ५० भन्दा बढी देशमा यसको क्लाउडमा आधारित परीक्षण भइरहेको छ।