भक्तपूर ।आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन् । वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ । परीक्षाको तालिकाभित्र कुनै आकस्मिक बिदा परेमा परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नगरिने उनले जानकारी दिए । उनका अनुसार यसवर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ६० हजार परीक्षार्थी सहभागी हुने छन्।


