काठमाडौं ।  इजराययली सेनाले (आइडिएफ)ले हमासले वेपत्ता बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जनाएको छ ।इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले बिबिसी नेपाली सेवासँग कुरा गर्दै इजरायलको सेनाले विपिनको परिवारसहित आफुलाई उनी जीवित नरहेको जानकारी दिएको बताएका हुन् ।

उक्त जानकारी इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायलका प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई जोडेर गरिएको भिडियो सम्मेलनमार्फत दिइएको हो ।

राजदूत पण्डितका अनुसार, आइडीएफले परिवार र दूतावासका प्रतिनिधिहरूको उपस्थितिमा ‘वि हिज नो मोर’ भन्दै विपिनको मृत्युको पुष्टि गरेको हो ।

टेलिफोनमा कुरा गर्दै राजदूत पण्डितले भने, ‘आईडीएफका अधिकारीले हामीलाई विपिन ईज नो मोर भने ।’ अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ । आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो । राजदूत पण्डितका अनुसार, इजरायली अधिकारीहरूले अब विपिनको मृत्युबारे थप विवरण र प्रमाणिकरण प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । नेपाल सरकारले यसअघि नै विपिनको खोजी र उद्धारका लागि इजरायल सरकारसँग निरन्तर समन्वय गरिरहेको जनाएको थियो ।