काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।
आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो ।
आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार गरिन्छ । पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ ।
पितृहरूको उद्धारका लागि घर–घर र तीर्थस्थलहरूमा श्राद्ध गरी पितृहरूको सम्झना गर्ने धार्मिक प्रचलन छ । सर्व पितृ मोक्ष औँसीमा पनि अन्य श्राद्ध कर्ममा झैँ पितृहरूका नाउँमा श्राद्ध तर्पण गरिन्छ । श्राद्ध गर्नाले पितृहरूले आफ्ना सन्तानलाई ऋणमुक्त गरिदिने तथा चित्त शुद्ध गराउने मान्यता छ ।
पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।


