हुम्ला । हिमाली जिल्ला हुम्लामा पछिल्लो पाँच महिनामा ६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार वैशाखदेखि हालसम्म ६ हजार १२५ जना विदेशी पर्यटक जिल्ला भित्रिएका हुन् ।

कार्यालयका अनुसार हुम्ला प्रवेश गर्ने विदेशी पर्यटकमध्ये ३ हजार ५६ जना महिला र ३ हजार ६९ जना पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर युवराज ढकालले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।

हुम्लाको हिल्सा नाका हुँदै पवित्र तीर्थस्थल कैलाश–मानसरोवर दर्शनका लागि जाने भारतीय तीर्थयात्रीको संख्या उल्लेख्य रहेको छ । उनीहरू काठमाडौं र नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा पुगेका हुन् ।

विदेशी पर्यटकको आगमन बढेसँगै सदरमुकाम सिमकोट र हिल्सा क्षेत्रका होटल तथा पर्यटन व्यवसायीले राम्रो आम्दानी गरेका छन् । होटल व्यवसायी संघका अध्यक्ष मिम लामाका अनुसार यस वर्ष एउटा होटलले मात्रै १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

अन्य मुलुकबाट हुम्लाका विभिन्न स्थानमा घुम्न आउने पर्यटकको संख्या भने तुलनात्मक रूपमा कम छ । यद्यपि कैलाश–मानसरोवर दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको आगमन अझै जारी रहेको व्यवसायीहरूले बताएका छन् ।

हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीका अनुसार भारतीय तीर्थयात्रीको आगमनले होटल व्यवसायी मात्रै नभई स्थानीय नागरिकलाई समेत रोजगारीको अवसर सिर्जना भएको छ । सिमकोटदेखि हिल्सा नाकासम्मका होटल, यातायात तथा अन्य व्यवसायमा यसको प्रत्यक्ष प्रभाव परेको उनले बताए ।

कैलाश–मानसरोवर पुग्न हुम्लाको मार्ग तुलनात्मक रूपमा छोटो दूरीको भएकाले जेठदेखि विदेशी तीर्थयात्रीको आगमन बढ्ने गरेको व्यवसायीहरूको भनाइ छ । जेठ, असार, साउन र भदौलाई कैलाश–मानसरोवर दर्शनका लागि उपयुक्त समय मानिन्छ ।

विदेशी पर्यटकको आगमनबाट स्थानीय तहले समेत आम्दानी गर्दै आएका छन् । सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्क उठाउँदै आएका छन् । भारतीय पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिने गरिएको छ ।