काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय जिनहाउ वाङ रहेका छन् ।
प्रहरीका अनुसार उनी आज बिहान १ः२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० एफमार्फत हङकङबाट काठमाडौं आएका थिए ।
विमानस्थलमा जाँच गर्ने क्रममा उनले आफ्नो मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाइछिपाइ ल्याएको सुनजस्तो देखिने पहेँलो रङको गोलाकार अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थ चारवटा प्लास्टिक क्यापसहित जम्मा १ किलो ८०३.७७ ग्राम रहेको छ ।
भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उक्त पदार्थ बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

