काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग गरेको छ ।
महानगरपालिकाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, सहरी सौन्दर्यीकरण, सहकारी, विपद् व्यवस्थापन, साना तथा घरेलु उद्योग, खाद्य गुणस्तर, फोहोरमैला व्यवस्थापन, स्थानीय कर अभियान तथा आकाशे पानी सङ्कलन र उपयोगलगायत क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने उद्देश्यले आवेदन आह्वान गरेको हो ।
महानगरपालिकाका अनुसार ४५ वर्ष उमेर पूरा भई ७५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिक, गैरआवासीय नेपाली तथा प्रचलित कानुनबमोजिम अनुमति प्राप्त विदेशी नागरिकले स्वयंसेवकका लागि आवेदन दिन सक्नेछन् ।
स्वयंसेवकका रूपमा छनोट हुने व्यक्तिले अवैतनिक रूपमा स्वेच्छाले सेवा गर्नुपर्नेछ । इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन पेस गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।
यससम्बन्धी आवेदन प्रक्रिया तथा थप जानकारी महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

