काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले कर प्रशासनको डिजिटल रूपान्तरण, कर अनुपालना अभिवृद्धि तथा कर विवाद समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
उनले कर प्रशासनको डिजिटल रूपान्तरण र स्वचालनलाई समग्र सुशासनको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाइने उल्लेख गरे ।
अर्थमन्त्री वाग्लेले आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीलाई सरल, सुरक्षित, व्यवसायमैत्री र करदातामैत्री बनाउन आवश्यक प्राविधिक सुधार गरिने बताए । कारोबार, लेखापालन, प्रतिवेदन तयारी, आय विवरण पेस तथा कर दाखिलासम्मका प्रक्रियालाई प्रविधिमार्फत सहज र स्वचालित बनाइने उनको भनाइ थियो ।
त्यस्तै, लामो समयदेखि कर तथा विवरण दाखिला नगरेका र न्यायिक तथा अर्धन्यायिक निकायमा कर विवादमा रहेका करदातालाई सरकारले उपलब्ध गराएको छुट तथा सहुलियतको उपयोग गर्न उनले आग्रह गरे ।
आर्थिक ऐनमार्फत ल्याइएका कर छुट तथा सहुलियतका योजनाबारे पर्याप्त प्रचारप्रसार हुन नसकेको भन्दै उनले ती सुविधाबारे करदातालाई जानकारी गराउन आन्तरिक राजस्व विभागलाई निर्देशनसमेत दिए ।
वाग्लेले करदाताका लागि सरकारले ऐतिहासिक राहतका कार्यक्रम ल्याएको उल्लेख गर्दै शुल्क, दस्तुर, थप दस्तुर तथा जरिवानाका कारण समस्यामा परेका करदातालाई पुसभित्रै उपलब्ध सुविधाको लाभ लिन आग्रह गरे ।
कर विवाद समाधानमार्फत सरकारले ठूलो राहत प्रदान गरेको उनको भनाइ थियो । उनले कर विवाद समाधानका क्रममा खर्बौँ रुपैयाँ बराबरको दायित्व व्यवस्थापन गरिएको उल्लेख गर्दै करका दर तथा जरिवानासम्बन्धी छुटका योजनालाई महत्त्वपूर्ण सुधारका रूपमा व्याख्या गरे ।
यस्ता सुविधा पटक–पटक उपलब्ध नहुने भन्दै उनले लामो समयदेखि कर विवादमा अल्झिएका करदातालाई अहिलेको अवसर सदुपयोग गरी कर प्रणालीमा पुनः जोडिन आग्रह गरे ।
करदातालाई राहत दिने निर्णय सरकारको सुशासनप्रतिको प्रतिबद्धताकै कारण सम्भव भएको उनले बताए । सुशासनप्रति प्रतिबद्ध र इमानदार सरकारबाट मात्रै यस्ता उदार राहतका कार्यक्रम ल्याउन सम्भव हुने उनको भनाइ थियो ।
यसैगरी, अर्थमन्त्री वाग्लेले कर न्याय, संस्थागत सुशासन र नागरिक सहभागितालाई कर प्रणाली सुधारका महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गर्दै कर प्रशासनलाई थप प्रभावकारी र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए ।

