काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित घाइतेको उपचार, विस्थापित परिवारको पुनःस्थापना तथा क्षतिग्रस्त विद्युत्, सडक र पुलको पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए।
उनका अनुसार विभिन्न जलविद्युत् आयोजना तथा संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन छन्। माथिल्लो त्रिशूली–१ आयोजनाबाट मात्रै ४३९ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको उनले जानकारी दिए। सो आयोजनाबाट हालसम्म ३९ वटा शव फेला परेको र अन्य आयोजनामा पनि बेपत्ताको खोजी भइरहेको उनले बताए।
बाढीका कारण भोटेकोशी–त्रिशूली नदी प्रणालीमा रहेका ११ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन्। यसबाट करिब ४१० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको तथा प्रसारण र वितरण संरचनामा समेत ठूलो क्षति पुगेको मन्त्री श्रेष्ठले बताए।
प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको र तत्काल सेवा पुर्याउन कठिन स्थानमा सौर्य प्रणाली तथा सौर्य बत्ती उपलब्ध गराइएको उनले जानकारी दिए।
बाढीमा ज्यान गुमाएका वा सम्पर्कविहीन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय भएको पनि मन्त्री श्रेष्ठले बताए।
त्यस्तै, प्रभावित ग्राहकलाई भदौदेखि न्यूनतम बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने तथा पुनः विद्युत् सेवा लिनेलाई निःशुल्क नयाँ मिटर उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए।
मन्त्री श्रेष्ठले विपद्बाट ठूलो मानवीय तथा भौतिक क्षति भए पनि त्यसबाट पाठ सिक्दै भविष्यमा जोखिम न्यूनीकरणका लागि प्रभावकारी प्रणाली विकास गर्नुपर्ने बताए। आगामी दिनमा जलविद्युत्लगायतका संरचना निर्माण गर्दा विपद् जोखिम न्यूनीकरण र सुरक्षालाई उच्च प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले जानकारी दिए।
यसैबीच, बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै मन्त्री श्रेष्ठले सतर्क रहन आग्रह गरेका छन्। विशेषगरी हालै बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा थप सतर्कता अपनाउन उनले आग्रह गरे।

