
विश्वकप फुटबल सुरु हुँदै गर्दा अजय देवगनलाई आफ्नो फिल्म दृश्यम २ रिलिज नगर्न धेरैले सल्लाह दिए । यो समय फिल्म रिलिज गर्नुले धेरैले जुवा खेल्नुको उपमा पनि दिए । तर, उनी मानेनन् । उनले आफ्नो फिल्म शुक्रबार २ मंसिरमा रिलिज गरे ।
यो फिल्मले रिलिजको दोस्रो दिनमै भारतको बक्स अफिसमा ठूलो फड्को मारेको छ । दृश्यम २ ले शनिबार १९ नोभेम्बरमा बक्स अफिसमा २१ करोड कमाएर सबैलाई चकित पारेको छ ।
फिल्मले शुक्रबार भारतीय बक्स अफिसमा १५.३ करोड रुपैयाँ कलेक्सन गरेको थियो भने शनिबार बक्स अफिसमा २१.५ करोडको व्यापार गरेको छ । जुन पहिलो दिनको अक्युपेन्सीको तुलनामा ४० प्रतिशतले बढेको छ । दृश्यम २ को पहिलो दिनको राम्रो प्रतिक्रियाले दोस्रो दिन व्यापार ह्वात्तै बढेको हो ।
यो फिल्मको शनिबारबाट भारतमा मध्यरात १२ र बिहान ६ बजेको सो पनि सुरु गरिएको छ । अजय देवगनको फिल्मको माग यति छिटो बढ्यो कि सबै छक्क परे । कतिपयले आइतबार बेलुकाबाट विश्वकप फुटबल सुरु हुने भएकाले यसलाई शनिबार नै हेरेको पनि अनुमान लगाएका छन् ।
अहिले दृश्यम २ को बक्स अफिस हेर्दा अजय देवगनको फिल्मले बक्स अफिसमा जादू चलाएको अनुमान गरिएको छ । यसको पूरा श्रेय अजय देवगनलाई जान्छ । दृश्यम २ कोरोना युगपछि अजय देवगनको दोस्रो दिनमा दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ । र, यसका लागि दर्शकले फेरि पनि उनको फिल्म छनोटलाई सलाम गरिरहेका छन् ।
दुई दिनमा दृश्यम २ ले ३६ करोड कलेक्सन गरेको छ भने फिल्मले आइतबार ३० करोडभन्दा बढी कमाउन सक्ने सहजै अनुमान गरिएको छ । यस्तो अवस्थामा दृश्यम २ ले आफ्नो पहिलो सप्ताहन्तमा ५० करोडको आँकडा पार गर्नेछ, जुन हाल अक्षय कुमारको यो वर्ष रिलिज हुने फिल्मलगायत धेरै कलाकारको लाइफटाइम कलेक्सन हुनेछ ।
चलचित्रको सो बढेपछि दृश्यम २ धेरै ठाउँमा हाउसफुल भइरहेको छ । यसको समग्र व्यापारलाई हेर्दा बिहानको सोमा फिल्मले २२ प्रतिशत, दिउँसो ३२ दशमलव ५ प्रतिशत, साँझसम्म अकुपेन्सी ५३ प्रतिशत र रातिको अकुपेन्सीमा ६६ प्रतिशत पुगेको छ । अब विश्वकपले यसलाई कत्तिको असर पार्छ । त्यो हेर्न बाँकी छ ।