काठमाडौं । रङहरूको पर्व होली आज तराई–मधेशका जिल्लामा मनाईंदैछ । हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराइमा होली अर्थात् फागु पर्व मनाउने गरिन्छ । नेपालका पहाडी जिल्लाहरूमा हिजो सोमबार फागु पूर्णिमाको अवसरमा हर्षोल्लासका साथ होली पर्व मनाइएपछि एक अर्कामा अबिर र रङ्ग लगाएर, शुभकामना आदानप्रदान गर्दै तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी तराईवासीले होली पर्व मनाउने भएका छन् ।

मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेद्भावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ ।

सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित त्रिलोचन भुर्तेलले बताए । ‘असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ’, उनले भने, ‘धार्मिक महत्त्वसँगसँगै सामाजिक सद्भाव र उमंग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।’

सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतिकको रुपमा होली पर्व मनाउने गरिएको छ ।

होलीको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजानिक विदा दिएको छ ।