चितवन । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । हुग्दी खोलानजिक पानीधारामा आइतबार साँझ ६ बजे ठूला चट्टानसहित पहिरो खसेपछि अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै सोमबार बिहान ११ बजेदेखि सञ्चालनमा आएको हो ।
नागढुंगा–मलेखु सडक आयोजना (पश्चिम खण्ड)का अनुसार पहिरो पन्छाउने काम सम्पन्न भएसँगै सडकखण्ड सञ्चालनमा ल्याइएको हो ।
आयोजनाले जारी गरेको सूचनामा भनिएको छ, “आज बिहान ११ बजे पहिरो पन्छाउने कार्य सम्पन्न भएसँगै सडकखण्ड सुचारु भएको छ । यद्यपि धारापानी, फिस्लिङ र जवाङ खोलामा सडकको छेउतर्फ भासिएको छ । सो स्थानहरूमा सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।”
आयोजनाका अनुसार आइतबारदेखि वर्षा रोकिए पनि पहिरो खस्ने जोखिम भने कायमै छ । विशेषगरी कृष्णभीर, धारापानी, फिस्लिङ, घोप्टेभीर, सिमलधारा तथा हुग्दीदेखि जवाङ खोलासम्मको क्षेत्रमा ढुंगा खस्ने जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
आयोजनाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन यात्रुलाई अनुरोध गरेको छ ।


