काठमाडौँ — पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो।

प्रहरी उच्च स्रोतका अनुसार जबरालाई निवासबाटै पक्राउ गरिएको हो। पक्राउको कारण र घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ।

जबराले १७ पुस २०७५ मा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते संसद्‌मा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।

महाअभियोग प्रस्ताव लामो समयसम्म संसद्‌मा विचाराधीन अवस्थामा रहेको थियो। संसद्को अधिवेशन समाप्त भएपछि तत्कालीन महासचिवले महाअभियोग निष्क्रिय भएको व्यहोरासहितको पत्र दिएका थिए।

सो पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। त्यससम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले २४ भदौमा जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो।

प्रधानन्यायाधीश मनोजकुमार शर्माको नेतृत्वमा रहेको संवैधानिक इजलासले यससम्बन्धी चारवटा रिट खारेज गर्ने फैसला गरेको थियो।