काठमाडौँ । देशमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास रहेको बलियो न्यून चापीय प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने क्रममा रहनेछ।
हाल देशभर अधिकांश भू–भागमा बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमतीका केही र कोशी तथा मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर अधिकांश बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका अधिकांश स्थानमा तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ भने कोशी र मधेश प्रदेशमा सामान्यतया बादल लाग्नेछ।
रातिको समयमा पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका अधिकांश स्थानमा तथा बागमतीका हिमाली तथा पहाडी भू–भागका धेरै र कोशीका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका अधिकांश स्थानमा, बागमतीको तराईका धेरै स्थानमा तथा मधेश र कोशीका तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
वर्षासँगै सम्भावित बाढी, पहिरो, डुबान तथा हावाहुरीको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

