काठमाडौं । काठमाडौं उपत्यकामा असोज ३ गतेदेखि ६ वटा रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन्।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकले असोज ३ गतेदेखि रात्रिकालीन बस सेवा विस्तार गर्ने निर्णय गरेको हो।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गत वैशाख १ गतेदेखि उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन्।
सेवालाई थप विस्तार गर्दै उपत्यकाको उत्तर–दक्षिण तथा पूर्व–पश्चिम क्षेत्रलाई जोड्ने गरी विभिन्न रुटमा बस सञ्चालन गरिने भएको छ।
जसअनुसार गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रागिरिको नागढुंगासम्म ४ वटा बस सञ्चालन हुनेछन्।
त्यस्तै, कीर्तिपुरदेखि नयाँ सडकस्थित नेपाल वायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा दुवैतर्फ फन्को लगाउने गरी ८ वटा बस सञ्चालन गरिनेछ।
यससँगै उपत्यकाका विभिन्न क्षेत्रमा रातिको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।


