पोखरा ।  कास्कीको किम्रुङखोलामा पहिरो खसेर पानी थुनिएपछि जिल्ला प्रहरीले मोदीखोला र यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेको छ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार मोदीखोलामा मिसिने किम्रुङखोला करिब ६ घण्टादेखि थुनिएको सूचना प्राप्त भएको छ।

खोला थुनिएको स्थानमा जमेको पानी अचानक फुटेमा ठूलो बाढी आउन सक्ने जोखिम रहेकाले प्रहरीले प्रभावित क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सचेत गराएको छ।

एसपी कार्कीका अनुसार थुनिएको पानी फुटेमा मोदीखोलामा एक्कासि बाढी आउन सक्ने र त्यसको असर नयाँपुल तथा वीरेठाँटी हुँदै पर्वत, स्याङ्जा र पाल्पासम्म नदी किनारका बस्तीमा पर्न सक्ने जोखिम छ।

जल तथा मौसम विज्ञान विभागले पनि सम्बन्धित प्रशासनलाई सतर्क रहन आग्रह गरेको छ।

किम्रुङखोला थुनिएको र बाँध फुटेमा मोदीखोलामा ठूलो बाढी आउन सक्ने सूचनापछि जिल्ला प्रशासन कार्यालय पर्वतले समेत नदी किनारमा रहेका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।