काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ।
हाल कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै भू-भाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ। गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थान तथा बाँकी तराई भू-भागका केही स्थानमा समेत मध्यम वर्षाको सम्भावना छ।
मधेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


