काठमाडौँ । वैदिक सनातन हिन्दू परम्पराअनुसार दिवङ्गत पितृको सम्झना तथा सम्मानमा गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा पितृलाई तर्पण, सिदादान तथा पिण्डदान गर्ने भएकाले यस अवधिलाई ‘सोह्र श्राद्ध’ भनिएको हो । यसलाई अपर पक्ष र प्रेत पक्षका नामले समेत चिनिन्छ ।

धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार ठूला चाडपर्व, यज्ञयागादि तथा शुभकार्यअघि पितृलाई श्रद्धापूर्वक सम्झने र तर्पण गर्ने गरिन्छ । पितृ पक्षका समयमा पितृहरू आफ्ना सन्तानबाट गरिने श्राद्ध तथा तर्पणको अपेक्षामा रहने धार्मिक मान्यता छ ।

सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृऋणबाट मुक्त हुने धार्मिक विश्वास रहिआएको छ । धर्मशास्त्रविद्का अनुसार पितृ पक्षमा आफ्नो पितृको तिथिमा श्राद्ध गर्नु शास्त्रीय परम्परा हो ।

सामान्यतया जाताशौच, मृताशौच वा पत्नी रजस्वला भएका अवस्थाबाहेक सोह्र श्राद्ध रोक्न नहुने मान्यता छ । तर, विभिन्न कारणले निर्धारित तिथिमा श्राद्ध गर्न नसकिएमा धर्मशास्त्रमा वैकल्पिक तिथिहरूको व्यवस्था गरिएको छ ।

आपत्कालीन अवस्थामा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्न सकिने शास्त्रीय व्यवस्था रहेको बताइन्छ । उक्त अवधिमा पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने उल्लेख धर्मशास्त्रीय ग्रन्थमा पाइन्छ । त्यसमा पनि सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म श्राद्ध गर्न सकिने विकल्प दिइएको छ ।

त्यस्तै, आश्विन शुक्ल पञ्चमीपछि पर्ने अष्टमी, द्वादशी र औँसीका दिन तथा भरणी नक्षत्र र व्यतीपात योग परेका दिन रोकिएको श्राद्ध गर्न सकिने व्यवस्था निर्णयसिन्धु, धर्मसिन्धुलगायतका धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ ।

यी विकल्पमा पनि श्राद्ध गर्न नसकिएमा आफूले वा ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्ने शास्त्रीय विकल्प रहेको बताइन्छ । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्ने र यसबाट पनि पितृ तृप्त हुने धार्मिक विश्वास छ ।

धर्मशास्त्रविद्का अनुसार सोह्र श्राद्ध बिहान आफूअनुकूल समयमा मात्र गर्ने नभई पितृको तिथिमा अपराह्नकालमा गर्नु शास्त्रसम्मत मानिन्छ ।

पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । त्यसैले दसैँलगायत ठूला चाडपर्व मनाउनुअघि पितृको तृप्तिका लागि श्राद्ध गर्ने परम्परा रहेको धर्मशास्त्रीय मान्यता छ ।