काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत नेपालले युएईलाई ६ विकेटले पराजित गरेको छ ।

कतारको दोहामा आइतबार सम्पन्न खेलमा युएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ५७ रन बनाए । त्यस्तै मयन यादवले २७ र बसिर अहमदले १८ रनको योगदान दिए । युएईका बलर मुहमद मोहसिनले २ विकेट लिए भने उद्दिश सुरी र अंश टन्डनले समान १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएई ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा समेटिएको थियो । युएईका मुहमद शाहदादले सर्वाधिक ४० र हरप्रित सिंहले ३२ रन बनाए । नूरुल्लाह आयोबीले १२ रन जोडे ।

नेपालका कुशल भुर्तेल र सन्दीप लामिछानेले समान ३ विकेट लिए । त्यस्तै राशिद खान, नन्दन यादव र ललित राजवंशीले १–१ विकेट लिए ।

पहिलो खेलमा भारतसँग फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ ।

नेपालले अब तेस्रो तथा अन्तिम खेल मंगलबार पाकिस्तान ‘ए’ सँग खेल्नेछ । युएईले पनि मंगलबार नै भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा युएईले दुवै खेलमा हार बेहोरेको छ ।