गृह मन्त्रालयले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशानुसार म्याच फिक्सिङ भएको, आयोजक सम्पर्क बाहिर रहेको खेलाडीको पारिश्रमिकमा अनियमिता भएको जस्ता समाचार आइरहेकाले त्यसको आवश्यक छानबिन गर्न प्रहरीलाई भनेको हो ।
‘टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आयोजक सम्पर्क बाहिर गएको, खेलाडीको पारिश्रमिकमा अनियमितता भएको र स्पट फिक्सिङ भएको जस्ता समाचार निरन्तररुपमा आइरहेकाले सो विषयमा के–कसो भएको हो आवश्यक छानबिन गरी जो–जे गर्नुपर्ने हो, यथाशीघ्र गर्नु गराउनु हुन माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यूको निर्देशानुसार अनुरोध छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यही पुस ९ गतेदेखि त्रिवि मैदानमा उक्त प्रतियोगिता जारी छ । प्राप्त निर्देशनको आधारमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाइएको छ ।
हाम्रा खेलाडीलाई ‘फिक्सिङ’ को एप्रोच गरियो ः ज्ञानेन्द्र मल्ल
नेपाल टी–२० लिगमा ‘फिक्सिङ’ भइरहेको विषयले चर्चा पाइरहेका बेला काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई ‘फिक्सिङ’का लागि प्रस्ताव आएको खुलासा गरेका छन् । मंगलबार विराटगर सुपरकिंग्सविरुद्धको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका हुन् । कप्तान मल्लले भने– ’अरु टिमको कुरा थाहा भएन, हाम्रो टिमको एक खेलाडीलाई एप्रोच गरिएको थियो । यसलाई तुरुन्त हामिले एन्टी करप्सन युनिटलाई खबर गरेका छौ र उनीहरुले यसलाई हेरिसकेका छन् ।’
कप्तान मल्लले एप्रोच र फिक्सिङ फरक कुरा भएको भन्दै एप्रोच गर्दैमा खेलाडीले गर्छ भन्ने नहुने बताए । उनले कुन खेलाडीलाई कस्तो खालको प्रस्ताव आएको भने भन्ने बारेमा भने स्पष्ट गरेनन् । यस अघि लिगको कमेन्टेटर रहेका सचिन तिमल्सेनाले पनि जारी लिगमा ’स्पट फिक्सिङ’ भएको बताउँदै आफू लिगबाट अलग भएको बताएका थिए । उनले सामाजिक सञ्जालमा एक भिडिओ पोष्ट गर्दै उस लिगमा स्पट फिक्सिङ भइरहेको दाबी गरेका थिए ।
घोषणादेखि नै विवादमा रहेको नेपाल टी–२० प्रतियोगितामा मंगलबार खेलाडीले पारिश्रमिक पाउन नसेको कारणले खेल्न तयार नभएपछि थप विवादमा आएको थियो । क्यानले यस विषयलाई खेलाडीसँगको छलफलपछि खेलाडीले भुक्तानी पाउने विषयमा ग्यारेन्टी गरेपछि खेलाडी खेल्न तयार भएका थिए ।