काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ११ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको एक सौर्य आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ। बाढीका कारण कुल ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको कुल क्षमता ४०६.१ मेगावाट रहेको छ। यसबाहेक प्राधिकरणको २५ मेगावाट क्षमताको सौर्य आयोजना पनि प्रभावित भएको छ।
प्रभावित जलविद्युत् आयोजनामा १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन, ४२.५ मेगावाटको सान्जेन, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट आयोजना रहेका छन्।
त्यस्तै, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, १४.८ मेगावाटको माथिल्लो सान्जेन, १४.८ मेगावाटको माथिल्लो मैलुङ र ५ मेगावाटको मैलुङ जलविद्युत् आयोजना पनि बाढीबाट प्रभावित भएका छन्।
प्रभावित आयोजनामध्ये रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–३ ‘ए’, त्रिशूली र देवीघाट नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी वा आयोजनासँग सम्बन्धित छन्। लाङटाङ जलविद्युत् आयोजना भने निजी क्षेत्रको हो।
बाढीका कारण जलविद्युत् आयोजना, प्रसारण तथा अन्य विद्युत् संरचनामा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक भए पनि क्षतिको पूर्ण मूल्याङ्कन हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ।


