
फिफा विश्वकप कतार २०२२ को मंगलबारदेखि सेमिफाइनलका खेल सुरु हुँदै छ । पहिलो सेमिफाइनलमा साविकको उपविजेता क्रोएसियाले दुईपटकको च्याम्पियन अर्जेन्टिनाको सामना गर्दै छ । यो खेल लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ ।
दुवै टोली खेल आफ्नो पक्षमा पार्दै फाइनल पुग्ने सोचमा हुनेछ । क्रोएसिया लगातार दोस्रोपटक फाइनल पुग्ने दाउँमा रहँदा अर्जेन्टिना ८ वर्षपछि फाइनल पुग्ने लक्ष्यमा हुनेछ । यसअघिको दुई संस्करणमा दुवै टोली फाइनलमा पुगे पनि उपाधि भने जित्न सकेका छैनन् । २०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसिया फ्रान्ससँग ४–२ ले पराजित भएको थियो । त्यसअघि ब्राजिलमा २०१४ मा भएको विश्वकपमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो ।
मिडफिल्डको मास्टर तथा कप्तान लुका मोड्रिच प्रेरित क्रोएसिया अर्जेन्टिनालाई स्तब्ध पार्दै लगातार दोस्रोपटक फाइनल पुग्न चाहान्छ । आक्रमणमा केही कमजोर देखिएको क्रोएसियाको सबैभन्दा बलियो पक्ष टिम गेमसँगै मिडफिल्ड, डिफेन्स र गोलरक्षक नै हो । डिनामो जाग्रिवबाट खेलिरहेका २७ वर्षीय डोमिनिक लिभाकोभिचले लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।
बलियो अग्रपंक्ति रहेको अर्जेन्टिनालाई यिनै गोलरक्षक बाधक बन्न सक्छन् । उनले ब्राजिलविरुद्धको क्वार्टरफाइनलमा सम्भावित आधा दर्जन गोल निस्तेज पारेका थिए । मिडफिल्ड मास्टर मोड्रिच खेल परिवर्तन गर्ने क्षमता राख्दछन् । बढ्ढो उमेर भए पनि उनको खेल स्तर उच्च स्तरको छ । उनलाई माटियो कोभासिच, इभान पेरिसिच, एन्डरेज क्रामारिच, मार्सेलो ब्रोजोभिच, सोसा, लोभरेन, जिभारडिओ र जुरानोभिचले साथ दिनेछन् । क्रोएसियालाई चोट र प्रतिबन्धको समस्या छैन ।
क्वार्टरफाइनलमा बलियो ब्राजिललाई टाइब्रेकरमा पन्छाएको कारण पनि क्रोएसियाको मनोबल उच्च छ । क्रोएसियाका फरवार्ड ब्रुनो पेट्कोभिचले अहिलेसम्म मेस्सीलाई रोक्नेभन्दा पनि टिमलाई नै रोक्ने योजना बनाएको र त्यसैअनुरूप खेल्दै लगातार फाइनलमा पुग्ने लक्ष्यमा रहेको बताएका छ्न ।
यता, सम्भवतः आप्mनो अन्तिम विश्वकप खेलिरहेका कितान लियोनेल मेस्सी आप्mनो टोलीको ठूलो जिम्मेवारी आप्mनो काँधमा बोकेका छन् । मेस्सीलाई अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनासँग तुलना गर्ने गरिन्छ । तर, म्याराडोनासँग बराबरी गर्न मेस्सीले आप्mनो टोलीलाई विश्वकपको उपाधि जिताउनुपर्नेछ । त्यसका लागि अर्जेन्टिनाले ८ वर्षपछि फाइनल पुग्न क्रोएसियाको बलियो रक्षापंक्ति तोड्नुपर्ने हुन्छ ।
सातपटकको बालोन डि ओर जितेका अर्जेन्टिनाका लागि मेस्सी नै मुख्य हतियार हुनेछन् । पाँच खेलमा ४ गोल र २ असिस्ट दिएका उनी गोल्डेन बुटको दौडमा समेत छ । सन् २०१४ को विश्वकपको फाइनलसम्म पुगेको अर्जेन्टिना जर्मनीसँग १–० गोलले पराजित भएको थियो । त्यसबेला उपाधिबाट चुकेको अर्जेन्टिना यसपटक क्रोएसियालाई हराएर उपाधिनजिक पुग्न क्रोएसियाको अवरोध पन्छाउनुपर्नेछ ।
मेस्सीलाई जुलियन अल्भारेज, एन्जल डि मारिया, रोड्रिगो डि पउल, मार्क एलिस्टर, इन्जो फर्नान्डेस, लियान्द्रो पारेडेस, नाहुइल मोलिना, निकोलस ओटा मेन्डीले साथ दिनेछन् । गोलरक्षक इमिलियानो मार्टिनेजले यस विश्वकपमा लगातार उच्च प्रदर्शन गरिरहेका छन् । प्रतिबन्धका कारण मार्कस एकुना र गोन्जालो मोन्टिएलले क्रोएसियाविरुद्धको खेल गुमाउनेछ । उत्कृष्ट खेल पस्किरहेका मार्कोस एकुना टोलीमा नहुँदा प्रशिक्षक लियोनेल स्कालोनीका लागि रक्षापंक्तिमा धेरै विकल्प हुनेछैन ।
निकोलास टाग्लियाफिकोले एउटा स्थान लिन सक्छन् । खेल पेनाल्टीमा लम्बिएको अवस्थामा त्यसमा अर्जेन्टिनाभन्दा क्रोएसिया केही भाग्यशाली सावित छ । क्रोएसियाले मुख्य प्रतियोगितामा पछिल्ला ९ मध्ये ८ खेल अतिरिक्त समयसम्म खेल्दै खेल आफ्नो पक्षमा पारेको छ । यसमा २००८ को युरोमा टर्की, २०१६ को युरोमा पोर्चुगल, २०१८ को विश्वकपमा डेनमार्क, २०१८ को विश्वकपमै रसिया, २०१८ को विश्वकपमै इंग्ल्यान्ड, २०२० को युरोमा स्पेन, २०२२ को विश्वकपमा जापान र यसमै ब्राजिलविरुद्धको खेल अतिरिक्त र टाइब्रेकरमा लम्बिएको हो । फ्रान्सले मात्रै क्रोएसियालाई ९० मिनेटभित्र हराएको छ । जुन २०१८ को विश्वकपको फाइनल हो । यसको तुलनामा अर्जेन्टिना केही कमजोर छ तर, खेलमा भन्न सकिने अवस्था भने रहँदैन ।
यी दुई टोली हालसम्म ५ पटक भिडेका छन् । दुवै टोलीले समान २ जित र १ बराबरीको नतिजा छ । तीन खेल मैत्रीपूर्ण रहँदा दुई खेल विश्वकपमा छ । विश्वकपमा यी दुई टोलीको यो तेस्रो भेट हुनेछ । सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाले १–० को जित निकालेको थियो । यी दुई टोलीले पछिल्लोपटक २०१८ को विश्वकपमा समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । जसमा क्रोएसियाले ३–० को सानदार जित निकालेको थियो । त्यसबेला गोल गरेका लुका मोड्रिच मात्रै अहिले क्रोएसियाको टोलीमा छन् । एन्टी रेविच र इभान राकिटिच टोलीमा छैनन् । क्रोएसिया सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा अर्जेन्टिना उक्त हारको बदला लिने योजनामा हुनेछन् ।Source : Rajdhani