
यतिबेला काठमाडौंको थापागाउँ स्थित मण्डला थिएटर नाटकमय भएको छ । त्यहाँ दैनिक चार ओटा शो मा स्वदेशी तथा बिदेशी नाटक मञ्चन भईरहेको छ ।
त्यहाँ शुक्रबारबाट दोश्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु भएको छ । १७ मँसिरसम्म चल्ने यो नाटक महोत्सबमा अहिले देश बिदेशका रँगकर्मीहरुले नाटक मञ्चन गरिरहेका छन् ।
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।
शुक्रबार महोत्सबलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ, भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीदलगायतले उद्घाटन गरेका थिए । शबाना यही महोत्सबको लागि नेपाल आएकी हुन् ।
सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ सुरु भएको यो महोत्सबमा आउन पाउँदा निकै खुसी लागेको भारतीय अभिनेत्री शबाना आजमीले बताईन् । यस्ता महोत्सबले कोरोनापछि रँगकर्मीलाई जागरुक बनाएको विश्वास व्यक्त गर्दै अभिनेत्री शबानाले भनिन,‘नेपालमा कलाकारहरु मिलेर आफै नाटकघर निर्माण गर्नु र नियमित नाटक मञ्चन हुनु, यस्तो महोत्सव आँट्नु आश्चर्यजस्तो लागेको छ । यो निकै सह्रानीय कार्य हो, यसलाई निरन्तरता दिनुहोला ।’
यस्तै महोत्सबमा शनिबार बेलुका बलिउड अभिनेत्री शबाना आजमीले मास्टर क्लासमा आफ्नो नाटक यात्रा’bout जानकारी गराईन् । उनले नाटकमा अघि बढ्नको लागि विभिन्न टिप्सहरु पनि नाट्यकर्मीलाई दिईन् । नाटकदेखि फिल्मसम्म उनको सफल यात्रा निकै लोभलाग्दो छ । त्यो सफलता हाँसिल गर्न आफुले गरेका सँघर्षको कथा पनि उनले मास्टर क्लासमा सुनाईन् ।
शुक्रबार उद्घाटनका क्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपालको कला–संस्कृति प्रवद्र्धन र विकासका लागि नाट्य महोत्सवको उल्लेखनीय भूमिका हुने छ भने, ‘कला संस्कृतिको आदानप्रदानको रुपमा महोत्सवहरु जरुरी छ, नेपाल सरकार तथा संस्कृति मन्त्रालय यस्ता कार्यलाई सघाउन र प्रोत्साहन गर्न तयार छ ।’
महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी, जिआइजेड नागरिक शान्ति सेवाकी स्टेफिन थेइसलगायतले पनि यस्तो महोत्सब निजी क्षेत्रबाट हुनु सराहनीय कार्य भएको बताए । बालेनले त यो महोत्सबलाई आउँदा दिनमा महानगरपालिकाबाट बजेट दिने बाचा गरे ।
महोत्सवकी निर्देशक तथा रंगकर्मी सिर्जना सुब्बाले आफुहरुको पेशा नै नाटक भएकाले यसको प्रवर्धनका लागि आपसी प्रयासबाट यो दोश्रो नाटक महोत्सव गरेको बताईन् । कार्यक्रममा उनले भनिन,‘कोभिडले थला परेको रंगमञ्चलाई उठाउँदै महोत्सवसम्म आइपुगेर स्वागत गर्न पाउँदा हामी खुशी छौं ।”
महोत्सब आयोजक संस्था मण्डला थिएटरको नाटक लेखन कार्यशालाबाट छानिएका सात नाटकहरुको संग्रह ‘इन्द्रधनुषः यस छिमलका नाटकहरु’लाई महोत्सब उद्घाटन समारोहमा विमोचन गरियो ।
महोत्सवको उद्घाटनमा नेपाली नाटक ‘कथा कस्तुरी’ मञ्चन गरियो । यो नाटकलाई नयनराज पाण्डेले लेखेका हुन् । पाण्डेको कथालाई नाट्य रुपान्तरण गरिएको हो । यसको निर्देशन दिया मास्केले गरेकी हुन् ।
शुक्रबार नै अर्को नेपाली नाटक ‘बुद्ध र भिकारी’ पनि मञ्चन गरियो । यो नाटकलाई अनिल सुब्बाले निर्देशन गरेका हुन् ।
नाटक मञ्चन अघि महोत्समा शुक्रबार ‘डिभाइजिङ अपेरेटिक ड्रामाटर्जी कार्यशाला’ र साँझ ‘ब्रिथ एण्ड बिट’ शीर्षकमा शलिल सुवेदी र नवराज गुरुङको साँगितिक कार्यक्रम प्रस्तुत गरियो ।
महोत्सबमा शनिबार दुईवटा नाटक चार शोमा मञ्चन भए । शनिबार मध्यान्न १२ बजे र दिउँसो ४ बजे भारतको नाटक ‘देस्देमोना रुपकम’ मञ्चन गरियो । अभिषेक मजुमदारको निर्देशनमा यो नाटक प्रस्तुत गरिएको थियो । यस्तै शनिबार दिउँसो २ बजे र ४ बजे स्पेन र इटालीको संयुक्त नाटक ‘मिस्टर एण्ड मिसेस क्राफ्ट’ मञ्चन गरियो । यो साँकेतिक नाटकलाई पाब्लो दुरान रोजस डायना कोस्टाले निर्देशन गरेका थिए ।Source: Rajdhani