काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।
यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) आज देश तथा विश्वभर विविध कार्यक्रमसहित मनाइँदैछ। सन् १८८६ मा अमेरिकाको सिकागो मा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा यो दिवस मनाउने गरिएको हो।
उक्त आन्दोलनका क्रममा सिकागोको हेयमार्केट क्षेत्रमा बम विस्फोट भएको थियो। बम कसले गराएको भन्ने स्पष्ट नभए पनि त्यसपछि प्रहरीले आन्दोलनरत मजदुरमाथि दमन गर्दा गोली लागेर सात मजदुरको मृत्यु भएको थियो। यद्यपि, उक्त आन्दोलनले अन्ततः श्रमिकका मागहरू स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।
सन् १८८९ मा पेरिस मा सम्पन्न अन्तर्राष्ट्रिय श्रमिक तथा ट्रेड युनियन नेताहरूको सम्मेलनले मे १ लाई विश्व श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता सन् १८९० देखि हरेक वर्ष मे १ मा यो दिवस मनाउने परम्परा रहँदै आएको छ।
यो दिवसलाई विश्वभरका श्रमिकहरूले आफ्नो हक, अधिकार र श्रमसम्मानको सुनिश्चितताका लागि सरकार र रोजगारदातासमक्ष आवाज उठाउने अवसरका रूपमा लिन्छन्।
नेपालमा पनि विभिन्न मजदुर सङ्गठनहरूले सभा, र्याली तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी मे दिवस मनाउँदै आएका छन्। नेपालमा पहिलो पटक विसं २००७ सालमा विराटनगर मा मजदुर आन्दोलनसँगै यो दिवस मनाइएको थियो। विसं २०४६ को राजनीतिक परिवर्तनपछि भने मे १ मा सार्वजनिक बिदा दिने व्यवस्था गरिएको हो।
यस वर्ष पनि अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ (स्वतन्त्र) लगायतका सङ्गठनहरूले विभिन्न कार्यक्रममार्फत श्रमिक दिवस मनाउने जनाएका छन्।


