काठमाडौँ । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न पुर्जी जारी गर्न अस्वीकार गरेको छ।
पक्राउ पुर्जीको माग गर्दै ललितपुर प्रहरी सोमबार र मंगलबार अदालत पुगेको थियो। तर आवश्यक कागजातविना पक्राउ पुर्जी जारी गर्न नमिल्ने भन्दै अदालतले प्रहरीको माग फिर्ता गरिदिएको हो।
ललितपुर जिल्ला अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार प्रहरी सोमबार र मंगलबार दुवै दिन पक्राउ पुर्जीको माग लिएर अदालत पुगेको थियो।
यसैबीच, पक्राउ पुर्जी जारी नगर्न माग गर्दै पत्रकार श्रेष्ठले मंगलबार उच्च अदालत पाटनमा रिट दायर गरेका छन्। उपसभामुख ठाकुरले श्रेष्ठविरुद्ध दिएको जाहेरीका आधारमा पक्राउ पर्नसक्ने आशंका गर्दै श्रेष्ठले पक्राउ रोक्न अन्तरिम आदेशको मागसहित रिट दायर गरेका हुन्।
यसअघि सर्वोच्च अदालतले सोमबार मात्रै पत्रकार श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको थियो।


