काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार सफल हुने वा नहुने कुरा प्रतिपक्षको कुरा सुन्ने कि नसुन्ने भन्ने विषयमा निर्भर हुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद साम्पाङले प्रतिपक्षका आवाजलाई बेवास्ता गर्दा सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको इतिहास रहेको उल्लेख गरे ।

उनले विगतको त्यस्तो अवस्था पुनः नदोहोरियोस् भन्ने आफ्नो चाहना रहेको बताए । जनताको प्रतिनिधिका रूपमा आफूहरूले जनताका समस्या र सरोकारका विषय संसद्मा उठाउने गरेको भन्दै उनले ती समस्या समाधान गर्ने जिम्मेवारी सरकारको भएको स्पष्ट पारे ।

साम्पाङले प्रतिपक्षले उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएर समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।