ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्।

‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयमा ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले आर्थिक कूटनीतिमार्फत नेपाली नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य सरकारको रहेको बताए।

उनका अनुसार आर्थिक कूटनीतिको मुख्य उद्देश्य व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन तथा दिगो विकासका अवसर सिर्जना गर्नु हो।

मन्त्री खनालले चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरको सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताए। उनले चीन र भारतसँग नेपालले सार्वभौम समानता, पारस्परिक सम्मान र पारस्परिक हितका आधारमा सम्बन्ध अघि बढाइरहेको उल्लेख गरे।

चीन र भारतको तीव्र आर्थिक विकासले नेपालसहित छिमेकी मुलुकका लागि व्यापार विस्तार, लगानी आकर्षण, पूर्वाधार तथा कनेक्टिभिटी विकास, पर्यटन प्रवद्र्धन र आर्थिक सहकार्यका नयाँ अवसर सिर्जना गरेको उनको भनाइ थियो।

दक्षिण एसियामा आर्थिक विकासको ठूलो सम्भावना रहे पनि क्षेत्रीय आर्थिक एकीकरण अपेक्षाकृत कमजोर रहेको बताउँदै उनले कनेक्टिभिटी विस्तार, व्यापार सहजीकरण, लगानी प्रवाह र आपूर्ति शृंखला सुदृढ गर्न सके क्षेत्रीय समृद्धि हासिल गर्न सकिने बताए।

मन्त्री खनालले सहकार्यको सफलता सम्झौताको संख्याभन्दा नागरिकका लागि सिर्जना हुने अवसरका आधारमा मापन हुनुपर्नेमा जोड दिए।

उनले वर्तमान सरकारले आर्थिक रूपान्तरणलाई राष्ट्रिय प्राथमिकतामा राखेको उल्लेख गर्दै गुणस्तरीय लगानी, पूर्वाधार विकास, निर्यात प्रवद्र्धन, पर्यटन, स्वच्छ ऊर्जा, डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा निजी क्षेत्रको विकासमा विशेष जोड दिएको बताए।

चीन र भारतको आर्थिक विकासलाई नेपालको आर्थिक उन्नतिका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको उल्लेख गर्दै मन्त्री खनालले नेपाललाई भूपरिवेष्टित मुलुकबाट चीन र दक्षिण एसियालाई जोड्ने गतिशील आर्थिक पुलका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।