काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायूसँगै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली छ। गण्डकीका केही स्थान, बागमती र लुम्बिनीका थोरै स्थान तथा कोशी र मधेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। यी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका पहाडी तथा हिमाली भू–भागसहित अन्य हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।


